काठमाडौं- प्रभु बैंक सन् २०२३ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ का लागि ‘बैंक अफ दि इयर २०२३, नेपाल’ बाट प्रभु बैंकलाई सम्मान गरेको हो।
सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो। ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ।
‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका १ हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी ‘बैंक अफ दि इयर’ पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ।
विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकको व्यवसायको विकास गर्न चुनौतीको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो।
बेलायतमा भएको समारोहमा प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका छन्। अवार्ड वितरण समारोहमा १ सय २० भन्दा बढी देशका ३ सय ५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो।
प्रभु बैंकले ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३ सय १० एटीएममार्फत देशव्यापी रूपमा ३१ लाखभन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ। बैंकले २०७९ पुसमा सेञ्चुरी बैंकलाई आफूमा विलय गराएर एकीकृत कारोबार सुरु गरेको थियो।
हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब रुपैयाँ छ।
प्रतिक्रिया