+
Search

ताजा अपडेट +

पपुलर +

अब नबिल बैंकले बनाउनेछ विदेशबाट फर्किएकालाई सुलभ ऋण दिएर उद्यमी

4KNationalDaily
२०८० माघ ११, बिहीबार १३:२६ बजे

काठमाडौं- पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढ्न थालेको छ। नयाँ जाने मात्रै हैन एक पटक गएर पनि फेरि विदेश फर्किनेहरुको संख्या पनि त्यतिकै छ।

चालू आर्थिक वर्षको ५ महिनामै वैदेशिक रोजगारीमा एक पटक आएर पुनः विदेश जानेको संख्या १ लाख ४ हजार छ।

यसरी पटक–पटक विदेश गइरहने नेपालीहरुको संख्या निरन्तर बढिरहेको अवस्थामा नेपालमै केही गरौँ र चाहेजति लगानी गरौँ भन्नेको लागि अब नबिल बैंक लिमिटेडले साथ दिने भएको छ।

विना कुनै झञ्झट लामो अवधिमा तिर्न मिल्ने गरी त्यस्ता सोच भएका उद्यमीलाई नबिल बैंक साथ दिन अघि बढेको हो। यो योजना विदेशमा रोजगारी गरेर फर्किएकालाई मात्रै हैन, विदेशमा शिक्षा र सीप लिएर फर्किएकाले समेत उपयोग गर्न सक्नेछन्।

नेपालमा अग्रणी र विश्वासिलो बैंकको छाप बनाएको नबिल बैंकले विदेशबाट फर्केकाहरुलाई स्तरीय उद्यमी बनाउने योजना अघि सारेको हो।

विदेशबाट फर्किएर स्वरोजगार बनिरहेको धेरै कथाहरु नेपालमा सुनिसकिएको छ। अब नबिल बैंकले भने स्वरोजगार उद्यमी मात्रै हैन, उद्यमी नै बनाउने योजना अघि सारेको हो।

नबिल बैंकले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको लागि ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ नामक योजना ल्याएको हो।

यो योजनाअनुसार वैदेशिक रोजगारीबाट फर्किएकाहरुको कर्जा दिइनेछ। बैंकले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको लागि १० करोडसम्मको कर्जा कर्जा दिएर उद्यमी बनाउने बताएको छ।

कर्जाको सीमा १० करोड छ। जसले नेपालमा जुनसुकै क्षेत्रमा पनि स्तरीय व्यवसाय गर्न सकिन्छ।

यो कर्जा सुलभ दरमा उपलब्ध हुनेछ। नबिल बैंकको बेस रेटमा न्यूनतम मात्रै प्रिमियम थप हुनेछ। बेसरेटमा १ दशमल ३ प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा प्रदान हुने नबिल बैंकले जनाएको छ।

यसमा आयमूलक व्यवसाय र उद्यम सुरु वा विस्तार गर्न, प्रवासी नेपाली र उनीहरुको परिवार लक्षित कर्जा योजना, न्यूनतम आकर्षक ब्याजदर जस्ता विशेषता रहेको बैंकले भनाइ छ। यस कर्जाको अवधि १० वर्षसम्मको रहनेछ भने ३ देखि ५ दिनभित्र कर्जा स्वीकृत हुने जनाइएको छ।

आज एक विशेष कार्यक्रममार्फत योजना सार्वजनिक गरेको हो।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले वैदेशिक रोजगारी गरेर, पढेर तथा केही सिकेर आएका व्यक्तिको क्षमता र सीपको उचित उपयोग गर्न सहयोग गर्ने उद्देश्यले यस्तो योजना ल्याएको बताए।

विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट आउन पनि यसले मद्दत गर्ने उनको भनाइ छ। जसले मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्ने बैंकको विश्वास छ।

सीईओ ढुंगानाले भने, ‘यसले विदेशबाट फर्किएका व्यक्तिको क्षमताको कदर गर्दै मुलुकको उद्यमशीलतामा योगदान गर्छ।’

स्तरीय बैंकको परिचय बनाएको नबिल बैंकमा २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी छ। चालू आर्थिक वर्षको ६ महिना अवधिमा जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ राखेको छ।

४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा छ।

बैंकको निष्क्रिय कर्जा निरन्तर घटिरहेको समेत बैंकको अर्धवार्षिक प्रतिवेदनले देखाएको छ। पुस मसान्तसम्म बैंकको निष्क्रिय कर्जा १ दशमलव २० प्रतिशत झरेको छ। गत आवको दोस्रो त्रैमासमा बैंकको निष्क्रिय कर्जा १ दशमलव ४६ प्रतिशत थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily