काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्चको रफ्तार बढ्ने घोषणा गरेका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले आगामी दिनमा पुँजीगत खर्चको रफ्तार बढ्ने उद्घोषण गरेका हुन् ।
उनले विभिन्न कानुनी झन्झटका कारणले पुँजीगत खर्च नबढेको बताउँदै सरकारले आवश्यक प्रबन्ध मिलाएकाले भावी दिनमा खर्च बढ्ने घोषणा गरेका हुन् ।
यस्तै, राजश्व संकलनको लक्ष्यमा समेत सुधार गर्ने ठाउँ रहेको उनले बताए । उनले पछिल्लो समय निरन्तर रूपमा बढ्दो अवस्थामा रहे पनि आगामी दिनमा राजश्व संकलनमा थप सुधारको स्थानमा रहेको बताए ।
अघिल्ला आर्थिक वर्षहरूमा राजश्व संकलन ऋणात्मक अवस्थामा रहेको स्मरण गरे ।
उनले अब बाँकी अवधिमा राजश्व संकलनको रफ्तार झनै बढ्ने घोषणा गरेका हुन् । हाल संकलन भइरहेको राजश्वको परिणामबाट सरकार समेत सन्तुष्ट नरहेको उनको भनाई छ । अघिल्ला वर्षमा पेट्रोलियम पदार्थबाट धेरै कर उठ्ने गरेको उनले सम्झिए ।
तर, पछिल्लो समयमा विद्युतीय सवारीमा कर छुट दिँदा राजश्व प्रभावित बनेको उनको भनाई छ ।
‘भन्सारमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयातबाट पर्याप्त राजश्व उठ्थ्यो,’ उनले भने, ‘अहिले विद्युतीय सवारीको आयात बढ्दो छ । हामीले यसमा छुट दिएका छौँ । यही कारण, राजश्व प्रभावित बनिरहेको छ ।’
प्रतिक्रिया