+
Search

ताजा अपडेट +

पपुलर +

३४१ मेगावाटको बुढीगण्डकी आयोजना: ६५ अर्ब लागत अनुमान, पाँच बर्षभित्र उत्पादन लक्ष्य

4KNationalDaily
२०८० चैत्र २०, मंगलवार १६:४९ बजे

काठमाडौं- ३४१ मेगावाटको बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाइ भएको छ।

मंगलबार विद्युत् नियमन आयोगको विद्युत् विकास विभागको सभा हलमा सार्वजनिक सुनुवाइ भएको हो ।

सुनुवाइ कार्यक्रममा आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विवादमा नफसी, स्थानीयलाई असर पर्ने किसिमले कुनै पनि प्रकार कामहरू नगर्न सुझाव दिए । उनले स्वदेशी लगानीमा ठुला आयोजना सञ्चालनमा आउनु सुखद पक्ष रहेकाले यस आयोजनाले देश विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।

त्यसैगरि अध्यक्ष सिंहले सार्वजनिक सुनुवाइका क्रममा उठेका र निवेदन मार्फत प्रवर्द्धक कम्पनीका विषयमा परेका उजुरीलाई गंभिरतापुर्वक लिइने बताउँदै प्रवर्द्धक कम्पनी टाइम ईनर्जी प्रालीले बेलैमा विद्युत् उत्पादन गर्न सकोस  भन्ने शुभेच्छा व्यक्त गरे ।

याे पनि : ५ प्रतिशत सेयर राखेर मल्होत्राले साहस ऊर्जालाई बेचे ३४१ मेगावाटको बूढीगण्डकी

आयोगका सदस्य गौतम डङ्गोलले परियोजनाले आसपासका स्थानीय गाउँ ठाउँहरूमा बाटो, घोटा धारा समेत बनाउन सहयोग गर्दै आएको पाइएको उल्लेख गदै विकास गतिविधिमा आयोजनाको साथले देशको समृद्धिमा सघाउ पुग्ने बताए । समृद्धिको आधार जल ऊर्जा भनेर मात्रै नहुने र आयोग नियमनको नाममा जटिल बनाउने भन्दा पनि देशको हितलाई हेरेर सहजीकरण गर्न तयार रहेको उनको दाबी थियो ।

त्यसैगरि नेपाल विद्युत् प्राधिकरणका निर्देशक राजन ढकालले आयोजनाको ग्रिड कनेक्सन एग्रिमेण्ट भैसकेको, पिपिए सहमति गरी आयोगमा पठाई सकेको र आयोगबाट सहमति पछि प्राधिकरणले पिपिए गर्ने जानकारी गराउँदै आयोजनाले लोडसेडिङ अन्त्यमा विद्युत् प्राधिकरणलाई सहयोग अपेक्षा गरे ।

सहभागीहरूले प्रबद्र्धकले कहिलेसम्म सम्पन्न गर्ने हो?, लागत मूल्य बढ्दै जाने समस्या आम भएको र वातावरण प्रभावबारे सरोकारवालाले प्रश्न राखेका थिए।

याे पनि: टाइम्स इनर्जीले ३४१ मेगावाटको बुढीगण्डकी निर्माण गर्ने, २०८५ चैतदेखि उत्पादनको लक्ष्य

प्रवर्द्धक कम्पनीले आयोजनाको प्राविधिक सम्भाव्यता, लगानीको स्रोत व्यवस्थापन, वातावरणीय प्रभावका विषयमाथि केन्द्रित रहेर कार्य पत्र प्रस्तुत गरेको थियो । कम्पनीले आयोजना सम्पन्न गर्न कम्पनी सक्षम रहेको दाबी गरेको छ ।

सुनुवाइ कार्यक्रममा कम्पनीका अध्यक्ष दीपक मल्होत्राले जलविद्युतमा लगानी गरी यस्ता ठुला आयोजना सञ्चालनले देशको आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने हुँदा सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा राखेको बताए ।

प्रतिमेगावाट लागत १६ करोड, ०८५ भित्र उत्पादन गर्ने लक्ष्य

उत्तरी  गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा यो आयोजना निर्माण हुनेछ । आयोजना सम्पन्न गर्न ६५ अर्ब लागत अनुमान गरिएको छ । यो आयोजना पिकिङ रन अफ रिभर प्रकारको हो । आयोजनाको बाँधस्थल र जलाशय चुमनब्रीमा रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलाशय मनासलु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्र बाहिर पर्दछन् ।

याे पनि : सरोकारवाला भन्छन्- ‘उत्तरी करिडोर’ बुढिगण्डकी परियोजनाका कारण ओझेलमा पर्‍यो

यो आयोजनाको जलाधार क्षेत्रफल ३६२८ वर्ग किलोमिटर रहने गरी डिजाइन गरिएको छ । आयोजनामा ५.८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ । टनेलमार्फत पानीलाई भूमिगत विद्युत् गृहमा पुर्‍याइनेछ । विद्युत् गृहमा ६ वटा ५७ मेगावाट क्षमताको टवाईन जडान हुनेछ । सो टवाईनसँग जोडिएको जेनरेटरमार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको सबै काम पूरा गरे ०८५ चैतदेखि व्यावसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १८३७.१६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमी प्रसारण लाइन निर्माण गरेर रातमाटे सब स्टेसनमा जोडिनेछ ।

आयोजनाको विभिन्न संरचना निर्माणका लागि ५६.२२ हेक्टर जमिन चाहिने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ४९.६२ हेक्टर स्थायी रूपमा र ६.६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्ने देखिएको छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारणलाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily