+
Search

ताजा अपडेट +

पपुलर +

हरेक महिनामा ठुलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला- गृहमन्त्री लामिछाने

4KNationalDaily
२०८१ बैशाख १२, बुधबार १७:१० बजे

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरूले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् ।

कसैको नाम नलिईकन उनले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’

उपनिर्वाचनको पूर्वसंध्यामा रास्वपाले दउमाई नगरपालिकाको मंगलबारेकाे आमसभालाई सम्बोधन गर्दै लामिछानेले त्यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन । पैसाको बलमा लोकतन्त्र किन्नेहरूलाई खबरदारी गर्न तपाईंहरुले वैशाख १५ मा घण्टीमा भोट हाल्नु पर्नेछ ।’

०८४ को निर्वाचनसम्म आफूहरूलाई पुराना शक्तिहरूले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरूलाई झुठा मुद्दा लाग्छन्, उनीहरूको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाइहरू त्यसले आत्तिनु पर्दैन ।’

नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएको प्रसंगबारे उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाइएको दाबी गरे। त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाइएको बताए । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मेराे पुत्ला जलाउने साथीहरूलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’

यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठुलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाइहरू प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्‍यो भन्नु हुन्छ । तपाइहरू धेरै आत्तिनु हुँदैन । तपाइहरू अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदै छ ।’

सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथि के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठुलै सप्राइज आउने बताए ।

उनले आफूहरू देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रूपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily