काठमाडाैं- गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हाे ।
गत चैत २५ गते नेकपा एमाले संसदीय दलका नेता अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रोपटक नियुक्त भएका थिए।
प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। संविधानको यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर बहुमत प्रस्तुत गर्न सक्ने प्रदेश सभाको सदस्य मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ।
एमाले संसदीय दलका नेता अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।
गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिक्रिया