पोखरा- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधवार दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
उनीसँगै कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । थापाले सामाजिक विकास, ऊर्जा र गुरुङले आर्थिक मामिला मन्त्रालयको शपथ लिए ।
१४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।
संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकारका लागि सभामुख कृष्ण धितालको मतलाई समेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले २५ चैतमै दाबी पेश गरे र त्यसै दिन प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया