+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मी सनराइज बैंकको खराब कर्जा सबैभन्दा धेरै, नाैं बैंकको ४ प्रतिशतमाथि

4KNationalDaily
२०८१ जेष्ठ २१, सोमबार १३:५५ बजे

काठमाडौं- लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतको सीमामा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैतसम्मको वाणिज्य बैंकहरुको प्रमुख वित्तीय सूचकांकअनुसार लक्ष्मी सनराइज बैंकको खराब कर्जा उच्च देखिएको हो।

सामान्यतया खराब कर्जा ५ प्रतिशत र त्यसभन्दा माथि भएको अवस्थालाई जोखिमको रुपमा लिने गरिन्छ। बैंकले चैतसम्मको बैंकहरुको वित्तीय विवरणमा लक्ष्मी सनराइजको ५.०७ प्रतिशत खराब कर्जा पुगेको छ भने ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतमाथि देखिन्छ। जसमा नेपाल बैंकको ४.८५ प्रतिशत, प्रभु बैंकको ४.८१ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.२९ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.४७ प्रतिशत, कुमारी बैंकको ४.९५ प्रतिशत, हिमालयन बैंकको ४.९६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मोगा बैंकको ४.६६ प्रतिशत, नबिल बैंकको ४.०४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.३० प्रतिशत खराब कर्जा छ।

योबाहेक कृषि विकास बैंकको ३.१७ प्रतिशत, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.६८ प्रतिशत र सिटिजन्स बैंकको ३.७६ प्रतिशत खराब कर्जा छ।

चैत मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा हुनेमा लक्ष्मी सनराइज बैंक पहिलो नम्बरमा रहँदा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको छ। एभरेष्टको ०.७ प्रतिशत मात्रै खराब कर्जा रहेको हो।

योसहित ६ वटा वाणिज्य बैंक खराब कर्जा कम हुने बैंकको सूचीमा छन्। सिद्धार्थ बैंकले खराब कर्जा ३.५२ प्रतिशतमा राख्दा, एनएमबी बैंकले २.८९ प्रतिशतमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.१४ प्रतिशतमा कायम राखेको छ। सानिमा बैंकले १.८९ प्रतिशत र नेपाल एसबीआई बैंकले १.९८ प्रतिशतमा खराब कर्जालाई सीमित राखेको हो।

सामान्यतया बैंकको कर्जा नतिरेको समयलाई आधार मानेर खराब कर्जाको गणना गरिन्छ। ३ महिना, ६ महिना र वर्ष दिनसम्म कर्जा तिर्न नआउने ऋणीहरुलाई वर्गीकरण गरेर यस्ता कर्जालाई खराब कर्जामा राख्ने गरिन्छ।

नेपाल राष्ट्र बैंकका अनुसार ५ प्रतिशतभन्दा कम खराब कर्जा हुनुलाई सामान्य मानिए पनि ५ प्रतिशत र सोभन्दा माथि खराब कर्जा पुगेको बैंकलाई जोखिमको रुपमा हेर्ने गरिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily