+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यकाका मेयरसँग प्रधानमन्त्रीले भने-सडकमा खोस्ने, लुट्ने नगरौं

4KNationalDaily
२०८१ श्रावण २३, बुधबार १९:३२ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघियताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गरेका छन् ।

उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका हुन् ।

‘जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ ।

हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन’, उनले भने, ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।’

उक्त फोरमले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने  विश्वास दिलाए ।

उनले फोहोरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गरे ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरु प्रतिबद्धता रहेकाले केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ मागेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily