+
Search

ताजा अपडेट +

पपुलर +

पानीमा कीरा भेटिएपछि विथोलियो महानगरको कार्यक्रम, किम्चीलाई २ लाख जरिवाना

4KNationalDaily
२०८१ श्रावण २७, आईतवार २०:०३ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एन्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ ।

गएको शुक्रवार रेस्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्वलाएको देखिन् । कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो ।

अनुगमन समितिका संयोजकसमेत रहेकी उनले दूषित पानी विक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी निस्किइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।

‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापरबाही हो । महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापरबाही नगर्न व्यवसायीहरूलाई अनुरोध गर्दै आएको छ ।’ त्यस क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले अनुरोधलाई अटेर गर्नेहरूलाई कानुनी कारबाही गर्नुको विकल्प नरहेको बताइन् ।

तत्काल अनुगमन टोली पुगेर रेस्टुरेन्टबाट नमुना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय हुन सकेन । यस कारण आज दूषित पानी विक्री गर्नेलाई २ लाख जरिवाना गर्ने निर्णय भएको हो ।

रेस्टुरेन्टबाट विक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका वडा नंं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एन्ड वेवरेजले उत्पादन गरेको ‘इको’ ब्रान्डको पानी हो ।

खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिवाना तिराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily