रौतहट– नेपाल बैंक लिमिटेडका सञ्चालक समिति सदस्य विवेक शमशेर जबराले सर्वसाधारण मानिसलाई पनि ऋण कर्जा दिनेबारे छलफल भइरहेको बताएका छन्।
कारोबार भएकालाई मात्र कर्जा प्रवाह गरिने सर्वसाधारण मानिसलाई नपाउने गुनासो बढेको कारण बैंक सञ्चालक समितिमा छलफलसँगै कर्जा प्रवाह गर्ने बारे योजना बनाइरहेको उनले स्पष्ट पारेका छन्। रौतहटको तत्कालीन पुरेनवा गाविसमा जन्मेको र ३८ वर्ष पछि प्रमुख अतिथिको रूपमा आएर बोल्न पाउँदा अत्यन्तै खुसी लागेको उनको भनाई थियो।
नेपाल बैंक जनताकै बैंक भएकाले यसलाई अगाडी बढाउने जिम्मा पनि जनताकै रहेको जबराले बताएका छन्। नेपाल बैंक र वाणिज्य बैंकबाट कर्जा लिएर समयमा चुक्ता नगरेकै कारण २० वर्ष अघि झन्डै बन्द हुने अवस्थामा पुगेको चर्चा गर्दै अब पुनः त्यस्तो अवस्थामा न आउन दिन हामी सबैको दायित्व रहेको जबराले बताए।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले देशभरिमा बैंकको २१९ शाखा र २०५ एटीएम सञ्चालनमा रहेको बताएका छन्। उनले बैंकमा ६१ प्रतिशत सरकारको तथा ३९ प्रतिशत जनताको लगानी रहेको बताउँदै अहिले आधुनिक बैंकिङ सेवा दिइरहेको नेपाल बैंकमा जनताको २५० करोड रकम जम्मा रहेको जानकारी दिएका थिए। कुनै परियोजनाको लागी कर्जा लिनुपर्दा सानो लगानीमा शाखाले १५ दिन भित्र र ठुलो लगानीमा केन्द्र बाट १ महिना भित्र स्वीकृति हुनुपर्ने स्पष्ट पारेका थिए।
नेपाल बैंकका मधेश प्रदेश प्रमुख प्रदीप पाठकले प्रत्यक्ष रूपमा जनताको सेवा गर्ने लक्ष्यका साथ सञ्चालित बैंकमा स्थानीय प्रबन्धक, कर्मचारीले कुनै प्रकारले अनावश्यक आर्थिक लाभ लिन खोजेमा, बदमासी गरी हैरान गर्न खोजेमा सीधा आफूलाई सम्पर्क गर्न ग्राहकसँग अनुरोध गरे। गलत नियत राखेर काम गरेको जानकारी आएमा त्यस्ता कर्मचारीलाई नियमानुसार कडा कारबाहीको चेतावनी दिए।
द्वन्दकालमा विस्थापित बैंकलाई पुनः स्थापित गराउन जिल्लामा कैयौँ पटक आन्दोलन गर्नुपरेको तथा पटक-पटक काठमाडौँ सम्म धाउनु परेको सराेकारवालाकाे जिकिर थियाे। कटहरियामै बैंक सञ्चालन हुँदा घरमै बसिबसी सम्पूर्ण सेवा पाएको बताउँदै विगतमा केही कर्मचारीले बिना कमिसन कर्जा लगानी नगरेको गुनासो गरेका थिए।
जिल्लाको चर्चित बजार कटहरियामा नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औँ बर्षपछि आफ्नै भवन पाएको छ। ०३० सालमा कटहरिया बजारमा स्थापना भएको बैंकले ५१ वर्ष पछि गत आइतबार देखी आफ्नै भवनमा सञ्चालनमा आएपनि औपचारिक रूपमा आज उद्घाटन भएको छ।
बैङ्कको नाममा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड ६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो। टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्रक्सन कम्पनीले ठेक्का सम्झौता अनुसार कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक आनन्द कुमार यादवले बताए।
२०८० फागुन १४ भित्र भवन निर्माण अवधि रहेकोमा केही प्राविधिक कारणले केही महिना ढिलो गरी आफ्नै भवनमा कारोबार सञ्चालन गरिएको प्रबन्धक यादवले जानकारी दिएका छन्। २०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेको थियो। तत्कालीन विद्रोही माओवादी र सरकार बिच सशस्त्र द्वन्द्व हुँदा २०६१ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो। केही समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछि नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो।
देशका अवस्था सामान्य हुँदा १० वर्ष पछि २०७१ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ। हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन्। कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा, आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबन्धक यादवले जानकारी दिएका छन्। भवन निर्माण संगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उनले जानकारी दिएका छन्।
कटहरिया शाखा स्थापना कालदेखि नै बर्सेनि नाफामा रहँदै आएको जनाइएको छ।
प्रतिक्रिया