काठमाडौं- नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ‘निम्ब स्मार्ट’ मोबाइल बैंकिङ्ग एपमा ‘निम्ब स्मार्टलोन’को कर्जा सुविधा सुरु गरेको छ।
मोबाइल प्लेटफर्ममार्फत बैंकिङ्ग क्षेत्रकै उच्चतम कर्जा रकमको साथ नयाँ स्वरूपमा निम्ब स्मार्टलोन अपग्रेड गरिएको बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहले जानकारी दिए।
यो सुविधामार्फत बैंकका योग्य ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको कर्जा निम्ब स्मार्ट एपमार्फत विना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन्।
बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ। यसमा ग्राहकहरुले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मकोे सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन्।
साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
ग्राहकहरूले आफ्नो निम्ब स्मार्ट एपमार्फत ‘इमेल भेरिफिकेसन’ गरी सजिलै ‘निम्ब स्मार्टलोन’मा ‘रजिस्ट्रार’ गर्न सक्नेछन्। निम्ब स्मार्टलोनको लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्डहरु पूरा गर्नुपर्छ। जस्तै तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि।
योग्य ग्राहकहरूले आफ्नो निम्ब स्मार्ट मोबाइल बैंकिङ्ग एपको होमपेजबाट ‘निम्ब स्मार्टलोन अप्लाई’ गरी कर्जाका सबै सुविधाहरु र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
प्रतिक्रिया