+
Search

ताजा अपडेट +

पपुलर +

आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमै रोजगारी दिन्छौँ : मन्त्री भण्डारी

4KNationalDaily
२०८१ मंसिर २६, बुधबार १३:४७ बजे

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको जानकारी दिएका छन् ।

बुधवार काठमाडौंमा आयोजित रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकारवाला तथा रोजगारदाताहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीको लागि महाशाखा, बोर्ड र विभाग भए पनि आन्तरिक रोजगारीको लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको बताए ।

उनले भने, ‘विशेषगरि रोजगारीको क्षेत्रमा हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार विभाग छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारको बारेमा कहीँ केही छैन । त्यो कसले हेर्ने, त्यस कारण अहिले मन्त्रालयको संरचनाको बारेमा छलफल गर्दै छौ । मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्दै छौ । यसले मुलुकभित्रका रोजगारीको सम्भावनाहरूलाई प्रवर्द्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्छ ।’

यस्तै, सरकारले रोजगारी नदिए पनि रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र नै भएको बताए ।

उनले भने, ‘सबैलाई थाहा भएको कुरा हो सरकारले रोजगारी दिने होइन । सरकारले सुविधा मात्र दिने हो । रोजगार भनेको रोजगारदाताले नै दिने हो । रोजगारदाता भनेको संसारभर निजी क्षेत्र नै हुन्छ । प्रत्येक ७ सय ५३ वटा पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेका छौ ।’

वैदेशिक रोजगार रोक्न नसक्ने अवस्थामा यसलाई मर्यादित र सुरक्षित गर्ने कुरामा पनि ठुलो समस्या देखा परेको बताए । उनले अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सरकार सही बाटोमा हिँडेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily