काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिदैँछ ।
लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फबाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतबार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ ।
बहस नसकिएको भन्दै आइतबार र सोमवार उनलाई हिरासतमा राख्न आदेश दिएका हुन । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाई बुधवार मात्रै अदालत जान दिइएको हो ।
थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ ।
उनलाई अदालत परिसरबाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर भने दैनिक जसो नाराबाजी गरिरहेका छन् भने प्रहरी हिरासतमा जानु अघि उनले सबैलाई ‘स्यालुट’ गर्ने गरिरहेका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रवार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रवार हाजिर हुन भने सकेका थिएनन् तर, आइतबार देखी अदालतमा हाजिर भएका लामिछाने काठमाडौंमा विगत तीन दिन देखी हिरासतमा रहँदै आएका छन् ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्यालयले उनी विरुद्ध सहित मुद्दा दर्ता गरेको हो ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथि लागेको छ ।
प्रतिक्रिया