+
Search

ताजा अपडेट +

पपुलर +

दुग्ध विकास संस्थानले तिर्‍यो काठमाडौं महानगरलाई ३१ वर्षको सम्पत्ति कर

4KNationalDaily
२०८१ माघ ४, शुक्रबार ११:४१ बजे

काठमाडौं- दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ ।

२०८१ पुस २८ गतेको मूल्याङ्कनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले बिहीबार १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो ।

वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गार सम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको छ ।

संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले यसअघिनै पत्राचार गरेकाे थियाे ।

महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा संकलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ । जसअनुसार नक्सा पास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा/सम्पत्ति कर गणना हुने व्यवस्था रहेको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए ।

प्रमुख अधिकारीले भने, ‘पत्राचारपछि करदाताहरू सम्पर्कमा आउने क्रम सुरु भएको छ । यो सकारात्मक पक्ष हो । आर्थिक ऐनले गरेको बक्यौता कर असुलीसम्बन्धी व्यवस्थाबमोजिम राजस्व असुल गरिनेछ ।’

ऐनबमोजिम कर दाखिला नगर्ने करदातालाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत जानकारी गराउने उनको भनाइ छ ।

समय अपुग भएर थप समय माग गरेमा राजस्व विभागका प्रमुखको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्न नसक्ने व्यवस्था रहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily