+
Search

ताजा अपडेट +

पपुलर +

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

4KNationalDaily
२०८१ माघ ४, शुक्रबार ११:५० बजे

कास्की– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् ।

‘ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस महोत्सव’को नारा सहित मादी गाउँपालिका-१, सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले आर्थिक विकासका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र भएको धारणा राखेका हुन् ।

नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै उनले पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताए ।

उनले सिक्लेसमा नयाँ केबलकार निर्माणको चरणमा रहेको र केबलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत बताए ।

‘सिक्लेस एउटा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा देश तथा विदेशमा प्रख्यात नै छ । केबलकार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ,’ उनले भने ‘केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ।’

सिक्लेस देखि कोरीसम्म बन्ने नयाँ केबुलकारको लागि प्रक्रियागत कामहरू सकिइसकेको जानकारी दिँदै उनले केबलकार निर्माणले सो क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए।

यस्तै उनले पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबले निर्वाह गरेको भूमिकाको सर्हना गरे ।

मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन आर्थिक विकासको आधार रहेको उल्लेख गर्दै पूर्वाधार विकास तथा अन्य सहजीकरणको लागि सरकार सधैँ तयार रहेको बताए ।

गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेस गाउँ मादी–१ मा पर्दछ । पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमशृङ्खला देख्न सकिन्छ । कास्की जिल्लाको उत्तरपूर्वी भागमा रहेको सिक्लेस पोखराबाट करिब ४० किमीको दूरीमा पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily