बुटवल– पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको छुनछेक बहस आज पनि जारी रहने भएको छ ।
बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरु भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ ।
सरकारी वकिलको तर्फबाट बहस सकिएको छ, लामिछानेको तर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आइतबार पनि उनी अदालतमा उपस्थित भए पछि बहस सुरु गरिन लागिएको छ ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, सो दिन पछि हाजिरी जमानीमा रिहा भई रहेका छन् ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडिँदै आएको छ ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरिएको हो ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।
प्रतिक्रिया