काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कतिपय कानुनहरू आवश्यक भए पनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताएका हुन् ।
उनले भने, ‘यदि कानुन बनाउने हो भने, कानुन आवश्यक हो भने हिउँदे अधिवेशन समयमै बोलाएर सरकारले विधेयक ल्याओस् । कानुन बनाउन हामी सहयोग गर्छौँ भनेका थियौँ । ढिलै भए पनि संसद् बोलाइएको छ । तर नियमित प्रक्रियाबाट कानुन बनाओस् त्यसमा छलफल गरौँला । कतिपय कानुनहरू पनि आवश्यक छन् । स्वाभाविक कुरा हो जसपाले सांसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा जसपाले सहयोग गर्छ जस्तो लाग्दैन । भूमि सम्बन्धी, वन सम्बन्धी ऐनहरूमा अध्यादेशमार्फत संशोधन भएको छ । तर यसभन्दा पहिला ल्याएको सरकारको अध्यादेश पनि अरूहरूले फेल नै गरेका थिए । यस पटक सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्थामा पुगेको छ ।’
साथै उनले सहयोग गर्ने कुरा स्वाभाविक भए पनि जसपाले सांसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा सहयोग नगर्ने बताए ।
प्रतिक्रिया